
काठमाडौं । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ ।
नेपालमा जन्मिएका गौतम बुद्धको बारेमा भारतका विदेशमन्त्री एस जयशङ्करले एक भर्चुअल सम्मेलनमा बुद्ध भारतका हुन् भन्ने टिप्पणी गरेलगत्तै नेपाल सरकारले गौतम बुद्ध यसरी बहस गर्नुपर्ने विवादित विषय नरहेको प्रष्ट पारेको हो ।
सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै गौतम बुद्ध नेपालको रहेको यथेष्ट भौतिक र लिखित प्रमाण जगजाहेर रहेको उल्लेख गरेको छ । ‘यो ऐतिहासिक र पुरातात्त्विक प्रमाणले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो,’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘बुद्धको जन्मस्थल बौद्ध धर्मको आधारशीला र युनेस्को विश्व सम्पदा स्थलहरूमध्येको एक हो’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उनले बताए ।
‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो,’ पौडेलले भनेका छन् ।
नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् ।
‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ,’ उनले भनेका छन् ।