
पोखरा । विगत केही सयमदेखि पोखरा महानगरपालिकामा ‘१३ करोड खै ?’ भन्ने विषयमा धेरै टिकाटिप्पणी भएपछि महानगरपालिकाले यसबारे मुख खोलेको छ । सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममा १३ करोडको प्रश्न उब्जिएपछि यस विषयलाई प्रष्ट पार्न महानगरले विज्ञप्ति जारी गरेको छ ।
आज सोमवार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा एक करोड त्रिहत्तर लाख एघार हजार नौ सय अठहत्तर रुपैंया बाउन्न पैसा मात्र फरक परेको जनाइएको छ ।
महानगरले लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयले दिएको प्रारम्भिक प्रतिवदेनमा राजश्व शाखाले तयार गरेको आय विवरण तथा बैंक मौज्जादको बीचमा तेह्र करोड एक लाख एकासी हजार सात सय सन्तानब्बे रुपैंयाँ आठ पैसा (१३,०१,८१७९७।०८) फरक देखिएको हो ।
‘तर कार्यालयले त्यसको सम्बन्धित विवरणहरु तथा आवश्यक कागजात र प्रमाण पेश गरी संपरीक्षण गर्दा एक करोड त्रिहत्तर लाख एघार हजार नौ सय अठहत्तर रुपैंया बाउन्न पैसा (१,७३,११,९७८।५२)को मात्र हिसाब फरक परेको र त्यस विषयमा अध्ययन गरी आयव्यय विवरण तयार गर्नुपर्ने भनी अन्तिम प्रतिवेदन प्राप्त भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
रकमको विषयमा साउन २५ गते नगर प्रमुखको अध्यक्षतमा बैंठक बसी अविलम्ब के, कति कारणले हिसाब फरक परेको हो ? त्यसको खोजी गरी आय व्यय विवरण तयार गर्न प्रमुख लेखा नियन्त्रक जयराम पौडेलको नेतृत्वमा गठित समितिलाई समय सीमासहित जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘लेखा परीक्षण आर्थिक प्रशासनको नियमित प्रक्रिया भएको र नगरपालिकाको वित्तीय विवरणको शुद्धता, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्नु जनप्रतिनिधिहरुको कर्तव्य समेत भएको विषयमा यस महानगरपालिका स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि कारणले कार्यालयको वित्तीय अनुशासन बिग्रेको पहिचान भएमा त्यसको दोषीलाई दण्डको भागीदार बनाउन हामी प्रतिवद्ध छौं ।’
‘नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई नबुझी तथा कार्यालयले आन्तरिक सुशासन प्रवद्र्धनको लागि गरिएको प्रयासलाई अविश्वास गरी गरिएका यस्ता अनर्गल प्रचार र तथ्यहीन कुराको पछि नलागी संपरीक्षण हुन बाँकी रकमको विषयमा कार्यालयलाई आन्तरीक अध्ययन तथा न्यायाचित निर्णय गर्न आफ्नो ठाउँबाट सहयोग गर्नुहुन आम महानगरबासीमा अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
