
काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र १५ दिन थप गर्ने निर्णय गरेको हो ।
यसअघि साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर दिनहुँ कोरोना संक्रमणको जोखिम बढेको भन्दै अन्तरजिल्ला, निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सीसीएमसीले सिफारिस गरेसँगै मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।