अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द, ‘टेक अवे’ सेवामात्र सञ्चालन गर्न पाइने

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । ‘यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,’ मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने ।

त्यस्तै सरकारले २ सय जना भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाले दुई सय भन्दा बढी संक्रमित रहेका सबै जिल्ला तथा काठमाडौ उपत्यका भित्रका कार्यालयहरूमा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सकिने बाहेकका अन्य सेवा स्थगित गर्ने निर्णय गरेको बताए ।

यसैगरी सम्वन्धीत कार्यालयको सेवा प्रवाह तथा कार्यसम्पादन सहजिकरणका लागि कार्यालयमा बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्य सम्पादनको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता डा. खतिवडाले बताए ।

मन्त्रिपरिषद्ले उपत्यका भित्रका तीन जिल्लाभित्र बाहेक २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाबाट अन्य जिल्लामा हुने सबै प्रकारका आवागमन स्थगित गर्ने र अत्यावश्यक कामका लागि मात्र स्थानीय प्रसाशन तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सवै यात्रुको परिचय तथा यात्रा प्रयोजन खुलाई प्रवेश अनुमति पत्र जारी गर्न सक्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकको सुविधाका लागि यस आगडि निर्धारण गरेको २० वटा प्रवेश विन्दुहरू घटाएर १० वटा मात्रै कायम राख्ने निर्णय गरको छ ।

झापाको काकडभित्ता, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगञ्ज, रूपन्देहीको बेलहीया, कपिलवस्तुको कृष्ण नगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीलाई प्रवेश विन्दु तोकिएको मन्त्री डा. खतिवडाले जानकारी दिए ।

यसैगरी सरकारले भदौ ३१ गते सम्म तोकिएको बाहेकका सबै अन्तराष्ट्रिय प्रवेश विन्दुहरूमा हुने अवागमन बन्द गर्ने र यस अगाडि भदौ १ गतेबाट सञ्चालनमा आउने भनिएका शैक्षिक संस्था, सैलुन, जिमहल, लामो दुरीका यातायात लगायतका सेवाहरू भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी सरकारले स्वदेश फर्कनुपर्ने अवस्थामा विदेशमा रहेका नेपाली नागरिकलाई कुटनितिक नियोगको सिफारिसमा बढीमा दैनिक ३ सय जना र बैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्नेगरी उद्धार गरिनेको हकमा दैनिक २ सय जनालाई मात्रै उडान अनुमति दिने निर्णय गरेको छ ।

यसरी आउने सबैलाई काठमाडौ उपत्यका भित्र तोकिएको स्थानमा क्वारेन्टाईनमा राख्ने र संक्रमण मुक्त भएको एकिन भएपछि मात्रै सम्वन्धीत गन्तव्यमा पठाउने व्यवस्था मिलाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री डा खतिवडाले बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सबै मठमन्दिर तथा धार्मिक संस्थाहरूका नित्य पुजा बाहेकका गतिविधिहरू स्थगित गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ मा यही जेठ १० गतेको घटनामा परी मृत्यु भएका नवराज विक लगायतका परिवारलाई प्रति मृतक १० लाखका दरले क्षतिपुर्ती दिने र घटनामा परी घाईते भएका सबैको उपचारमा लागेको विल बमोजिमको खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थको गुणस्तर निर्धारण सम्वन्धी आदेश स्वीकृत गर्ने, पर्यटन पुर्वाधार उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ स्वीकृत गर्ने, पे्रस काउनसील कार्यव्यवस्था तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गर्ने, राष्ट्रिय जनगणना २०७८को घर तथा परिवार सूचीकरण फारम र मुख्य प्रश्नावली स्वीकृत गर्ने, नेपाल बंगलादेश वाणिज्य सचिव स्तरको छैठौं बैठकका लागि वार्ता गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सचिवको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।