फेवातालको फुटपाथमा भीडभाड नगर्न आग्रह

-


     मर्दी न्युज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ ले आवश्यक काम बाहेक अरुबेला ननिस्कन आग्रह गरेको छ । स्थानीय प्रगती मार्ग कृष्णचोकका एक जनामा कोरोना संक्रमण देखिएकोले वडाध्यक्ष जगतबहादुर पहारीले वडाबासीलाई सो आग्रह गरेको हो ।

उनका अनुसार वडामा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन, भिडभाड गर्न र समुहमा हिड्न समेत पाइनेछैन । वडा नं. ६ मा पर्ने फेवातालको फुटपाथमा समेत भीडभाड नगर्न समेत आग्रह गरिएको छ ।

‘हाल यस वडा अन्तर्गतको फेवाताल क्षेत्रको वरपरको फुटट्रयाकमा दैनिक रुपमा पैदल यात्रीहरुको भिडभाड बढेकोले सो स्थानमा समेत कोरोना भाइरसको जोखिम बढेको छ, यसै विषयलाई समेत गम्भिरतापूर्वक लिई उक्त स्थानमा समेत भिडभाड नगर्न समेत अनुरोध गर्दछौं ।’, अपिलमा भनिएको छ ।

उनले पैदल हिँडदा, सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने वा सेनिटाईजर गररहने र सामाजिक दुरी अनिवार्य रुपमा कायम राख्न समेत आग्रह गरेका छन् ।