
काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । गृह मन्त्रालयले बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई बुधवार निर्देशन दिएको हो ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयले परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।
‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो । यसअघि सरकारले लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउन र जानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सवारी पास वितरण गर्दै आएको थियो ।
