जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी हुने सवारी पास वितरण कार्य स्थगित

-


     मर्दी न्युज    
     २९ साउन २०७७ मा प्रकाशित


पोखरा, २९ साउन । जिल्ला प्रशासन कार्यालय कास्कीले एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि प्रदान गरिने सवारी पास वितरण कार्य बिहीबारबाट स्थगित गरको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एक विज्ञप्ति जारी गर्दै पोखरा बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए ।

कोरोनाको संक्रमण उच्च रुपमा वृद्धि हुन थालेपछि गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी पास वितरण कार्य रोकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।