
सांकेतिक तस्विर
कालिकोटको महावै गाउँपालिका-३ मा पहिरोले घर पुर्दा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।
गए राति १२ बजेतिर खसेको पहिरोले पुरिंदा एक परिवारका चार बालबालिका र अर्को परिवारका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। तीज मनाउने क्रममा उनीहरु एकै ठाउँमा बास बसेका थिए।
प्रहरीका अनुसार, वडा नम्बर ३ का वडा सदस्य रजबहादुर विष्टका दुई छोरा र दुई छोरी तथा रजबहादुरका दाजु दिलबहादुर विष्टका दुई छोरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षका पुष्प, ११ वर्षीय प्रवीण तथा १९ वर्षीया शान्ति र १० वर्षीया रेखा रहेको प्रहरीले जनाएको छ।
उनीहरु सबैको शव निकालिसकेको प्रहरीले जनाएको छ।