कर्मफ्लाईटसद्वारा अर्नाकोटमा शैक्षिक र सरसफाई सामाग्री तथा पोशाक वितरण

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका अन्तर्गत वडा नं २ अर्नाकोट देउराली स्थित अर्नाकोट आधारभूत विद्यालयमा अध्ययनरत २२४ विद्यार्थीहरुलाई कर्मफ्लाईटस् संस्था पोखराले स्टेशनरी तथा सरसफाई सामाग्री तथा विद्यालय पोशाक (ट्रयाक र ज्याकेट) उपलब्ध गराएको जनाएको छ । सरकारले उपलब्ध गराउने छात्रवृत्ति रकम रु. ६८,८००/- मा कर्मफ्लाईटसको रु ८,०३,६३३/– (अक्षरुपी रु. ८ लाख ३ हजार ६ सय तेत्तिस्) थप गरि जम्मा रु ८७२,४३३/– (अक्षरुपी रु. ८ लाख बहत्तर हजार ४ सय तेत्तिस् ) बरावरको छात्रवृत्ति वितरण गरेको विद्यालयका प्र.अ वेग व. कुँवरले जानकारी दिए । विगत केहि वर्षदेखि कर्मफ्लाईटस् संस्थाले गरिव तथा जेहेन्दर ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा गत साल देखि विद्यालयको अनुरोधमा सवै विद्यार्थीलाई समेटेर समानरुपमा छात्रवृत्ति उपलब्ध गराएको हो ।

विद्यालयका शिक्षक रेशम विश्वकर्माले दिएको जानकारी अनुसार विद्यालयमा पढ्ने कक्षा १ देखि कक्षा ८ सम्मका सम्पूर्ण २२४ जना विद्यार्थीहरु तथा विद्यालय को आधारभुत तह पछि अन्यत्र विद्यालय तथा उच्च शिक्षा पढ्ने छात्रवृत्ति प्राप्त गरिरहेका थप २० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी कपी १ दर्जन, कलम र पेन्सिल १-१ प्याकेट, १-१ जोर विद्यालयको लोगो अंकित ट्रयाकसुट र कोट तथा स्वास्थ्य सामाग्री तर्फ १-१ वटा टुथ ब्रस, कोलगेट , नङकट , २ चक्की साबुन उपलब्ध गराइएको हो । त्यसैगरि कोरोनाको महामारीलाई मध्यनजर राख्दै विद्यार्थी तथा अभिभावकलाई २-२ वटा फेस मास्क उपलब्ध गराइएको हो ।

पहिलो चरणमा शैक्षिक सामाग्री तथा सरसरफाई सामाग्री गत असार १७ र १८ गते सामाजिक दुरी कायम गरी वितरण गरिएको थियो भने दोस्रो चरण अन्तर्गत गत श्रावण २५ गते संस्थाका प्रतिनिधि तथा शिक्षकहरुको उपस्थितिमा पोशाक (ट्रयाक सुट) वितरण गरिएको संस्थाका कार्यक्रम निर्देशक प्रेम ब. कुँवरले बताए । हाल संस्थाको सहयोगमा विद्यालयका ४ जना छात्राहरुले विश्वविद्यालय तहमा अध्ययन गदै छन् भने कक्षा ११ र १२ मा ७ जनाले अध्ययन गरिरहेका छन् ।

निसीखोला गाउँपालिकासंग वडा नं २ मा शिक्षा , बालवालिका तथा स्वास्थ्यको क्षेत्रमा सहकार्य गदै क्रियाशील कर्मफ्लाईटस् संस्थाले गाउँपालिकाको सिफारिसमा आफ्नै तलव भत्ताको व्यवस्था गरि अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइमा एक जना अ.हे.व (सिएमए) को नियुक्ति गरि दिएकोमा एक कार्यक्रमको विचमा सिएमए चेत ब. कुँवरको पदस्थापन पनि गरिएको इकाई संयोजक झम ब. कुँवरले बताए । सो अवसरमा स्वास्थ्य सामग्री (व्यान्डेज), १ थान कोल्ड बक्स तथा हाते प्रिन्टर पनि हस्तान्तरण गरिएको थियो । त्यस्तै गरि नेपाल इज यूकेको आर्थिक सहयोगमा पालिकाको वडा नं १ र २ वडा भरिका ५०० जना किशोरी छात्राहरुलाई किशोरी शिक्षा सहित पूनः प्रयोगजन्य महिनावारी प्याड वितरण कार्ययोजना अनुसार अर्नाकोट आधारभूत विद्यालयका कक्षा ६ र ८ सम्मका छात्राहरुलाई किशोरी शिक्षा सहित सेनिटरी प्याड वितरण गरिएको प्रशिक्षक मिना कार्कीले बताइन् । फाउन्डेशनले अर्नाकोट आधारभूत विद्यालयका लागि गरिव , दलित र जेहेन्दार छात्रवृत्ति सहित अन्य शैक्षिक सामाग्री र एकजना स्थानिय स्रोत शिक्षकको आशिंक तलव व्यहोदै आइरहेको छ ।