लिदी पहिरो : मृत्यु हुने ११ जनाको सनाखत, बेपत्ताको खोजी जारी

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएका १३ जनाको शव फेला परेको छ, जसमध्ये ११ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा पुरिएका ३८ मध्ये ११ को शव निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टिकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिती दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।

जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार आज बिहान थप दुई शव फेला परेको छ । लिदी पहिरोमा हराइरहेका ३८ भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको तामाङले जानकारी दिए ।

‘बेपत्ता भएकाहरूको खोजी बिहानैदेखि सुरु भएको छ’, बेपत्ता खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए । उनले भने ‘नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरूको खोजी सुरु गरेका छन् ।’ घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँको सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।