
पोखरा, ३२ साउन । गण्डकी प्रदेशमा दुई जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयको आइतबार बिहान ६ः२० बजे जारी गरेको अद्यावधिक विवरण अनुसार प्रदेशका २ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की र तनहुँ जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १६ र ५ का ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिनेमा पोखरा १६ का २२ र ३० वर्षका पुरुष र २२ र ५० वर्षीया महिला रहेका छन् । त्यस्तै पोखरा महानगरपालिकाकै ५ नं. वडाका ३३ वर्षीया महिला रहेका छन् ।
यस्तै तनहुँको भानु नगरपालिका ४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ९ पुगेको छ ।
