
पोखरा, ३२ साउन । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ७७ हजार ३६७ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५३ लाख ५९ हजार ४३२ पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार ९६ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा २५ लाख २६ हजार १९२ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ६९ हजार ६५२ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ६९ हजार ४६३ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ७ हजार २३२ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ३३ लाख ७१ हजार ४३५ जना रहेको छ ।

