नेपाल पर्यटन बोर्डले ल्यायो पर्यटन मजदुरलाई रोजगारी कार्यक्रम

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा कोभिड १९ को महामारीको कारण रोजगारी गुमाएका वा दैनिक जीविकोपार्जन गर्न समस्या परेका गण्डकी प्रदेशका पर्यटन मजदुरहरुलाई लक्षित गरि रोजगारी कार्यक्रम ल्याएको छ ।

जस अन्तर्गत, कास्की जिल्लाको मादी गाउँपालिकामा १०० जना र अन्नपूर्ण गाउँपालिकामा ६० जना मजदुरहरुले रोजगारी पाउने छन। अन्नपूर्ण गाउँपालिकाको अन्नपूर्ण आधार शिबिर पदमार्ग तथा मादी गाउँपालिकाको टोनि हेगेन पदमार्गमा सरसफाइ, पदमार्ग मर्मत तथा ब्यबस्थापन, साइनेज मर्मत तथा व्यवस्थापन, कुलो कुलेसो मर्मत तथा व्यवस्थापन, झाडी तथा झारपात व्यवस्थापन र अन्य संभावित कार्यहरू गर्नुपर्ने छ।

रोजगारी कार्यक्रमलाई संबंधित गाउँपालिकाले कार्यान्वयन गराउने छन भने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आवश्यक समन्वय गर्ने साथै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) केन्द्र तथा पश्चिमाञ्चल क्षेत्रीय संघले कामदार/श्रमिक छनोट प्रक्रियामा स्थानीय तहलाई सहजीकरण गर्ने वताइएको छ। दुबै गाउँपालिकाहरुलाई गरिएको पत्राचार अनुसार एक हप्ताभित्र पालिकाहरुले फोकल पर्सनको चयन गरी नेपाल पर्यटन बोर्डलाई जानकारी दिनुपर्नेछ । यस अनुसार रोजगारी कार्यक्रम यहि भाद्र १५ गते पश्चात शुरुहुने देखिन्छ ।

रोजगारी कार्यक्रम ४५ दिन संचालन हुने, श्रमिकहरु उपरोक्त पालिकाहरुकै स्थानीय बासिन्दा हुनुपर्ने, ३३% महिला सहभागिता हुनुपर्ने, दैनिक ज्याला रु १०००/- (आवश्यक कर कट्टी हुन सक्ने) जस्ता केहि प्रावधानका कारण वास्तविक पीडित पर्यटन मजदुर लाभान्वित हुनेकुरामा भने पर्याप्त शंकागर्ने ठाउँ रहेको सरोकारवालाहरु बताउँछन।