गण्डकी प्रदेशसभा काँग्रेसद्वारा फेरि अबरुद्ध

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ ।

सरकारले कोरोना नियन्त्रणमा संवेदनशील नभएको र अवस्था भयवह हुने परिस्थिति आएकोले आफूहरुले पटकपटक स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । गत असार २३ गते कोरोना नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै संसद सचिवालयमा दर्ता गरेको संकल्प प्रस्ताव प्रतिपक्षबाट भएको भन्दै त्यसलाई फेल गराउने कार्य भएको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा सांसदबीच विभेदपूर्ण व्यवहार भएको कांग्रेसको आरोप छ ।

आइतबार एक बजे डाकिएको बैठक सवा १ बजे शुरु भएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको जनाउ गरेलगत्तै कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए । लगत्तै सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई बोल्ने समय उपलब्ध गराए । नेता नेपालीले कोरोना नियन्त्रणमा बेवास्ता र विभेदपूर्ण व्यवहार गरी ल्याइएको कार्यविधिको विरोध स्वरुप सदन अवरुद्ध गरिएको जानकारी गराए ।

कांग्रेसले असार २३ मा संसद सचिवालयमा कोरोना नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै ४ बुँदा समेटेरसंकल्प प्रस्ताव पेस गरेको थियो । जसमा १ घर १ पिसिआर, प्रदेशका जिल्लाहरुमा स्थापना गरिएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप गराइनुपर्ने, आइसोलेसन बेडको उचित प्रबन्ध गर्नुपर्ने र कोरोना संक्रमितको निधन भएमा उचित व्यवस्थापन मिलाउनुपर्ने माग सहित संकल्प प्रस्ताव दर्ता गरेको थियो ।

यसअघि दुईपटक गरेको सदन अबरुद्ध र लामो छलफलपछि उक्त प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको थियो ।