गण्डकी प्रदेशमा कोभिड– १९ को तथ्याङ्कः मनाङ, मुस्ताङ र म्याग्दीमा सक्रिय केस शुन्य

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ भदौ । हालसम्मको अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर पद्धतिबाट गरिएको परिणाम अनुसार कूल संक्रमितको संख्या १८४४ पुगेको छ । जसमध्ये निको भएर घर फर्कनेहरुको कूल संख्या १५९२ छ भने मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्लामा सक्रिय केसहरुको संख्या सबैभन्दा बढि १०७ छ । यस जिल्लामा कूल संक्रमितको संख्या २६९ मध्ये निको हुनेहरुको संख्या १६० रहेको छ र मृत्यु हुनेको संख्या २ पुगेको छ ।

सबैभन्दा बढि ३७५ संक्रमित संख्या भएको नवलपुर जिल्लामा ३२६ जनाले यस रोगलाई जितेका छन् र ४९ जनाको उपचार भइरहेको छ ।

उपचार गरिएको अवस्थामा पहिलो पटक मृत्यु भएको स्याङ्जा जिल्लामा ३०५ जना संक्रमित मध्ये २८४ जनाले यस रोगलाई जितेका छन् भने १९ जनाको उपचार भइरहेको छ । त्यसै गरि जिल्लामा हालसम्म २ जनाको मृत्यु भएको छ ।

सबैभन्दा पहिले संक्रमित भेटिएको बाग्लुङ जिल्लामा २७९ संक्रमितमध्ये २६० जना निको भईसकेका छन् । १८ जनाहरु उपचारार्थ छन् भने १ जनाको मृत्यु भएको छ ।

त्यसै गरि तनहुँ जिल्लामा २२५ संक्रमित मध्ये १८७ जना निको भई घर फर्किएका छन् । ३७ सक्रिय केसहरु रहेकोमा १ जनाको मृत्यु भई सकेको छ ।

प्रदेशको सवैभन्दा सानो जिल्ला पर्वतमा संक्रमितको संख्या १०५ रहेको छ भने सक्रिय केसहरुको संख्या ७ रहेको छ र ९८ जना निको भइसकेका छन् ।

हाल ५ जनाको सक्रिय केसमा उपचार भईरहेको लमजुङ जिल्लामा संक्रमित ११६ जना मध्ये १११ जना रोगलाई परास्त गरि सकेका छन् ।

सबैभन्दा कम १ जना मात्र सक्रिय केस भएको गोरखा जिल्लामा संक्रमित ११८ जनामध्ये ११६ निको भईसकेका छन् । यस जिल्लामा १ जनाको मृत्यु भएको छ ।

संक्रमितहरुको संख्या क्रमशः ४८, १ र १ रहेको म्याग्दी तथा हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ भने सबै संक्रमितहरु निको भइ हाल सक्रिय केसहरुको संख्या शुन्य छ ।

त्यसै गरि ६ जिल्लाहरु मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, नवलपुर र लमजुङमा यस भाइरसबाट कसैको ज्यान गएको छैन । हाल प्रदेशमा कूल सक्रिय संक्रमित केस २४५ छन् भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १०८४ रहेको छ । प्रदेशमा निको हुने प्रतिशतमा ८६ प्रतिशत रहेको छ ।

प्रदेशमा भदौ ३ गतेसम्म ३६ हजार ४६४ नमूना संकलन गरिएको छ भने त्यसमध्ये ३४ हजार ६८१ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । गत भदौ ३ मा गरिएको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा भारतबाट १२ हजार ९१५ जना आएको तथ्याङ्क छ भने तेस्रो मुलुकबाट आउनेको संख्या संख्या ६ हजार १९८ जना रहेको निर्देशनालयले जनाएको छ । हालसम्म बुधवारसम्ममा प्रदेशमा विदेशबाट आउनेको कुल संख्या १९ हजार ११३ जना रहेको निर्देशनालयले जनाएको छ ।



Tags: