पर्यटन व्यवसायी र पर्यटन मजदुरलाई होच्याउने आफ्नो मनसाय नभएको प्रमुख रेग्मीको प्रष्टोक्ति [विज्ञप्तिसहित]

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले पर्यटनसम्बद्ध एशोसियन तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । भदौ १२ गते बीबीसीलाई दिएको आफ्नो अन्तर्वार्तामा पर्यटन क्षेत्र, पर्यटन व्यवसायी र पर्यटन मजदुरलाई होच्याउने, नकार्ने र अपहेलना गर्ने नियत नभएको र भविष्यमा पनि नहुने बताएका छन् ।

आज सोमवार एक विज्ञप्ति जारी गर्दै प्रमुख सिईओ रेग्मीले नेपालको पर्वतीय पर्यटनको क्षेत्र राज्यको नीतिभन्दा बाहिर गएर अनाधिकृत रुपमा व्यवसाय गर्नेहरुको लागि उर्वरा थलो बन्न गएको बताउँदै पर्वतीय पर्यटनको क्षेत्रमा हुने भ्रमणको समयमा चेन सप्लाई रहेका सेवा प्रदायकहरुबाट पर्यटकहरुलाई सेवा दिँदा हुने गरेका वास्तविक खर्चको कर कार्यालयले स्वीकार गर्ने बिलविजकसमेत कतिपय अवस्थामा जारी नहुँदा राज्यको नीतिनियमभित्र रहेर व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा परिरहेको बताएको उल्लेख गरेको छ ।

उनले भएको वास्तविक खर्च समेत प्रमाणित गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै पर्वतीय पर्यटन अस्वस्थ प्रतिष्पर्धाको क्षेत्रको रुपमा परिणत भइ राज्य र व्यवायी दुवैको लागि अप्रिय रहेको बताउँदै त्यसप्रति लक्षित गर्दै आप्mनो अन्तर्वार्तामा झोलामा कम्पनी बोक्ने, घरपरिवारका व्यक्तिले कम्पनी चलाएर रोजगारी सृजना नगर्ने, कर नतिर्ने भन्ने सन्दर्भ प्रस्तुत गरेको प्रष्टोक्ति गरेका छन् ।

‘निजी तथा सार्वजनिक साझेदारी अन्तर्गत रहेको र पर्यटन क्षेत्रको प्रबद्र्धन तथा विकासमा प्रमुख भूमिका खेल्ने संस्थाको प्रमुख रहेको जो कोही व्यक्तिले पर्यटन क्षेत्रको महत्वमा आघात पर्ने कुनै पनि कुरा बोल्न त के सोच्न समेत नसक्ने विषय हो भन्ने कुरा म प्रष्ट पार्न चाहान्छु’ जारी विज्ञप्तिमा ५ नम्बर बुँदामा भनिएको छ, ‘तथापि मैले बीबीसी रेडियोमा प्रस्तुत गरेको विषय तथा सन्दर्भ कुनै तवरबाट पर्यटनक्षेत्रलाई होच्याउन वा यसको गरिमाको मर्दन गर्न बोलेको होइन भन्ने तथ्यलाई पुनः दोहोर्याउन चाहान्छु । मैले बीबीसी रेडियोमा भनेका विषयहरुले गर्दा मैले माथि उल्लेख गरेको आसयभन्दा फरक तबरले बुझिन गई यसबाट कसैलाई आघात पर्न गएको भएमा त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’