थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या ४० हजार नाघ्यो

-


     मर्दी न्युज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित


पोखरा, १६ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मंगलवार संक्रमित हुनेहरुमा ३४४ जना महिला र ७२५ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ७ हजार २ सय ८० सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार १ सय १२ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख ५ हजार ५६० जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना रहेका छन् । पछिल्लो २४ घन्टामा ७६८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २२ हजार १ सय ७८ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: