
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । तनहुँ व्यास नगरपालिका २ घर भएकी २० वर्षीय महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मृगौंलाको समस्या रहेर डायलसिस गराइरहेकी उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा लमजुङका ७ र बागलुङका १ गरी ८ जना नयाँ संक्रमित पुष्टि भएको छ । आज प्रदेश स्वास्थ्य निर्देशनालयले पाँचौ पटक जारी गरेको विज्ञप्तिअनुसार लमजुङ जिल्लाको बेसीशहर नगरपालिकाका ५ जना, मस्र्याङ्दी गाउँपालिकाका १ जना र क्होलासोँथर गाउँपालिकाका १ गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनादविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी बागलुङ गलकोटका २१ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको शर्माले जनाए । योसँगै प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ७३ पुगेको छ ।