गण्डकीका सांसदलाई कोरोना पुष्टि, मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित


Mardi News

पोखरा, १८ भदौ । गण्डकी प्रदेश सभाको विधायन समिति सभापति मोहन रेग्मीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जाबाट निर्वाचत सांसद रेग्मीलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रमुखसँग डेढ साता पहिला खाना खाएका र त्यहाँका प्रहरीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा रेग्मीको स्वाब परीक्षण गरिएको थियो । बुधबार नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विधायन समितिका सभापति रेग्मीले स्वाब दिएपछि पनि मन्त्रीदेखि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । विधेयकमाथि छलफल गर्न पनि उनी सामाजिक विकास मन्त्री नरदेवी पुनको क्वार्टरमा पुगेका थिए । उनी भौतिक पूर्वाधारमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि सम्पर्कमा पुगेको पाइएको छ ।

सभापति रेग्मी बुधबारमात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । मुख्यमन्त्री अर्को बैठकमा व्यस्त भएकाले नभेटी फर्किएको स्रोतले जानकारी दिएको छ ।

सांसदलाई संक्रमण देखिएपछि उनलाई होम आइसोलेसन वा कोभिड उपचार केन्द्रको आइसोलेसन लैजाने भन्ने छलफल भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशक डा। शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको बताए ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ ।



Tags: