
पोखरा, १८ भदौ । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आज बिहान लेखनाथबाट रिफर भई भर्ना भएका पोखरा महानगरपालिका ६ का ३७ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
मृतक पुरुष आज बिहान ५ः२० बजे मात्र प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएका थिए । कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी आठौं व्यक्ति भएको निर्देशक आचार्यले बताए ।
यसैगरी आजै तनहुँकी ९२ वर्षीया वृद्धाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।
यस्तै नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
