
सन् २००९ को सेप्टेम्बर महिनाको पहिलो शनिबारको दिन बाट शुरु गरिएको अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भोलि भाद्र २० गते नेपालमा पनि यस कार्यक्रम मनाइँदै छ । कोभिड-१९ को विश्व महामारीबाट यस बर्षको कार्यक्रम फरक तरिकाले गरिने भएको छ ।
नेपालभर रहेका ७ वटा गिद्ध शुद्ध आहार केन्द्रलगायत नेपाल पंछी संरक्षण संघ-काठमाण्डौ, पोखरा पंछी समाज-कास्की, बर्ड एजुकेशन सोसाईटी-चितवन, कोशी पंछी समाज-सुनसरी, ग्रिन युथ लुम्बिनी-कपिलबस्तु, बर्दिया नेचर कन्जरभेसन क्लब-बर्दिया, बर्ड कन्जरभेसन नेटवर्क-कैलाली र नेचर गाईड एसोशिएसन-कञ्चनपुरले गिद्धको गणना गरि मनाउँदै छन् ।
सिनो खाएर प्रकृतिलाई स्वच्छ बनाउने प्रकृतिका कुचिकार गिद्धको संख्यामा ह्रास आई लोप हुन लागेका अवस्थामा गिद्धबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् २००५ बाट अफ्रिकामा राष्ट्रियस्तरमा मनाईने यस दिवसलाई सन् २००९ बाट अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको हो ।
विश्वमा २३ प्रकारका गिद्धहरु पाइन्छन् भने साउथ एशियामा ९ प्रजाति पाइन्छन् र ति ९ वटै प्रजाति नेपालमा अभिलेख गरिएका छन् ।