
दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको यो दिवस यस वर्ष यहि भाद्र २० गते शनिबारका दिन १२औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाईदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ ।

शिकारी वर्गको यस प्रजातिले गाई बस्तुका सिनो खाएर प्रकृतिलाई स्वच्छ बनाउने गर्दछन् र यीनिहरुले आफै शिकार पनि गर्दैनन् । यदि गिद्ध नहुने हो भने ति सिनोहरुको उचित ब्यवस्थापन नहुँदा कुकुर, स्याल, मुसाहरुको बिगबिगी भई हैजा, रेबिज, प्लेग, झाडापखाला, एन्थ्रेक्स, क्षयरोग जस्ता रोगहरुको महामारी हुने गर्दछ । वातावरण दुषित हुनबाट जोगाउने गिद्धलाई धार्मिक र सांस्कृतिक रुपमा पनि हेरिने गरिन्छ ।
तिन दशक अघि सम्म प्रशस्त देखिने गिद्धहरु हाल अक्कल झुक्कल देखिनुमा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधी रहेको पत्ता लाग्यो । डाइक्लोफेनेक औषधी प्रयोग गरिएका पशुहरु मरे पछि उक्त सिनो खाँदा गिद्धको मृगौलामा असर परि २४ घण्टा भित्रै मर्ने हुँदा उक्त औषधीलाई प्रतिबन्ध गरि म्यालोक्सिक्याम औषधी प्रयोगमा ल्याइएको छ । गिद्धहरु समुहमा खाने हुँदा एउटै सिनोमा सयौं गिद्ध मर्ने भएकाले नै प्रकृतिका कुचिकारका रुपमा चिनिने गिद्ध झुण्डका झुण्ड गरि संसारबाटे लोप हुने अबस्थामा छन् ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धहरु मध्ये दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन् र नेपालमा ९ प्रजातिनै भेटिएका छन् । जस मध्ये आइयूसियनको लिस्टमा ३ प्रजाति डंगर, सानो खैरो र सुन गिद्ध अति संकटापन्न र सेतो गिद्ध संकाटापन्न अबस्थामा छन् । जुन नेपालको रैथाने प्रजाति पनि हुन् । ९० प्रतिशतको हाराहारीमा ह्रास भएका डंगर गिद्धहरुको प्रजनन केन्द्र बनाइसकेको अबस्थामा हाल उक्त प्रजनन केन्द्रबाट जन्मिएका केहिलाई प्रकृतिमा समेत छोडि सकिएको नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ बताउनुहुन्छ ।
बिशेष गरि यस दिवसको सन्दर्भमा सचेतनामुलक र्याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु, गिद्ध तस्बिर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानिय सरकार र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्ने गरिन्छ ।
हाल विद्यमान कोभिड-१९ को विश्व महामारीलाई मध्यनजर गर्दै यस वर्ष आम सञ्चार माध्यमबाट तथा सामाजिक सञ्जालमार्फत गिद्ध संरक्षण सम्बन्धि सचेतना प्रवाहमा सक्रिय नेतृत्व र सहभागिताको निम्ती जनसमुदायलाई नेपाल पंछी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत कृष्ण प्रसाद भुषाल आग्रह गर्नुहुन्छ ।

यस १२औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा भाद्र २० (सेप्टेम्बर ५) गते शनिबारको दिन आफुलाई अनुकुल पर्ने स्थान घर तथा कार्यस्थल आसपासका सम्भावित गिद्ध पाईने ठाउँबाट सकेसम्म बिहान ८ बजे देखी ११ बजे भित्रको समय वा त्यस दिनभरमा गिद्धको अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवसमा सहभागिता जनाई गिद्ध संरक्षणमा हातेमालो गर्न सकिने संरक्षण अधिकृत भुषाल बताउनुहुन्छ ।
शिकारी प्रजातिको शहर भनेर चिनिने पोखरामा पनि बिगतका बर्षहरुमा झै गिद्ध गणना गरिने भएको छ । जस अनुसार पोखरा आसपासका बिभिन्न ७ स्थान घाचोक, हेम्जा, काहुँडाँडा, पुम्दीकोट, दोबिल्ला, मझेरीपाटन, ल्याण्डफिल्ड साइड र दमौली ल्याण्डफिल्ड साइड गरी ८ स्थानमा बिहान ८ बजे देखि ११ बजे भित्र गिद्ध गणना गर्ने आईयूसियनको गिद्ध बिज्ञ समुहका सदस्य तथा पोखरा पंछी समाजका सचिब हेमन्त ढकाल बताउनुहुन्छ ।

नेपाल भर रहेका ७ वटा गिद्ध शुद्ध आहार केन्द्र लगाएत नेपाल पंछी संरक्षण संघ-काठमाण्डौ, पोखरा पंछी समाज-कास्की, बर्ड एजुकेशन सोसाईटी-चितबन, कोशी पंछी समाज-सुनसरी, ग्रिन युथ लुम्बिनी-कपिलबस्तु, बर्दिया नेचर कन्जरभेसन क्लब-बर्दिया, बर्ड कन्जरभेसन नेटवर्क-कैलाली र नेचर गाईड एसोशिएस- कञ्चनपुरले गिद्धको गणना गरि मनाउँदै छन् ।
