
एजेन्सी । विश्वमा कोरोनाभाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि भारत दोस्रो संक्रमितको सूचिमा पुगेको तथ्याङ्कले देखाएको छ।
यसअघि अमेरिकापछि धेरै सङ्क्रमित हुनेको दोस्रो सूचिमा ब्राजिल थियो।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ । पहिलो स्थानमा भएको अमेरिकामा संक्रमितको संख्या ६२ लाख ७६ हजार नाघेको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ३७ हजार ५२१ रहेको छ ।
भारतमा सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ हजार ६४२ पुगेको छ । देशको जनसङ्ख्याको हिसाबले कोरोनाका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ।
तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । तर सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ । भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हुन् । महाराष्ट्रमा संक्रमितको संख्या ९ लाख भन्दा बढी छ । आन्ध्राप्रदेशमा करिब ५ लाख संक्रमित छन् भने कर्नाटकमा ४ लाख पुग्न लागेको तथ्याङ्क छ ।
सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको हो । लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन् ।
यसअघि आइतवार भारतमा एकैदिन थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यहाँ आइतवार मात्रै नभइ लगातार विगत तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या ८० हजार नाघ्दै आएको थियो।