जापानमा शक्तिशाली ताइफु, एकको मृत्यु, चार वेपत्ता र ९६ जना घाईते

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


सन थापा

जापान । सेप्टेम्बर ७
जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली ताइफुमा परि , एकको मृत्यु, चार वेपत्ता र ९६ जना घाईते भएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार तीन दशकपछिकै शक्तिशाली र विनाशकारी मानिएको हाइसेन ताईफू (१०) कारण ओकिनावा, क्युशु क्षेत्रका सात प्रान्त, च्यूकोकुक्षेत्रका चार प्रान्त, सिकोकु क्षेत्रका दुई र किन्की क्षेत्रका एक प्रान्तको जनजीवन प्रभावित बनेको छ ।

ताईफूमामा परी खागोसिमा प्रान्तमा एक जना ७० वर्षीया महिलाको मृत्यु भएको छ भने मियाजाकी प्रान्तमा चारजना वेपत्ता भएका छन् । क्युशु क्षेत्र अन्तर्गत फुकुओकामा १७ जना, कुमामोतोमा १६ जना, खागोसिमामा १२ जना, नागासाकीमा आठ जना, मियाजाकीमा सात जना, सागामा छ जना, ओईता प्रान्तमा तीन जना घाईते भएका छन् । त्यसैगरी च्यूकोकु क्षेत्र अन्तर्गत यामागुचीमा सात जना, हिरोसिमामा दुई जना, ओकायामा र सिमाने प्रान्तमा एक(एक जना घाईते भएका छन् ।

त्यस्तै सिकोकु क्षेत्र अन्तर्गत ईहिमेमा आठ जना, तोकुसिमा प्रान्तमा सातजना र किन्की क्षेत्रमा पर्ने ह्योगो प्रान्तमा आठ जना घाईते भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । ताईफूका कारण करीव तीन लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ भने ८ लाख ७० हजार जना प्रभावित भएका छन् । प्रतिघण्टा २ सय १० किलो मिटर मापन गरिएको आधीहुरीका साथै भीषण बर्षाका कारण हजारौ घरहरु, सडक, सवारी साधन क्षतिग्रस्त भएका छन् । त्यसैगरी ५ सय ८० आन्तरिक उडान रद्द गरिएको छ भने हिरोसिमा–हाकाता रूटको बुलेट ट्रेन समेत बन्द भएको छ ।