जापानमा कोरोना ग्राफः घट्दो संक्रमण, मृत्युदर उस्तै

-


     मर्दी न्युज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
सेप्टेम्वर ७ । जापानमा कोरोना संक्रमणको दर घट्दै गएको छ । सोमबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक १ हजारको हाराहारीमा संक्रमित थपिदै आएकोमा यो गत जुलाई १३ मा २ सय ६० जनापछिको सबैभन्दा कम संख्या हो । जापानभित्र संक्रमित भएका ७२ हजार ३ सय २१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ७३ हजार ३३ जना पुगेको छ ।

सोमबार ओकिनावामा चार जना, टोकियोमा तीन जना, साईतामा, ओसाका, ईसिखावा र खागावा प्रान्तमा एक(एक जना गरी ११ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । राति १० बजेसम्मको अपडेट अनुसार योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार ३ सय ९३ जना पुगेको छ । संक्रमित मध्ये २ सय नौ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी निको हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ गरी कूल ६३ हजार १ सय ९५ जना पुगेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २१ हजार ८ सय ४४ जना, ओसाकामा ९ हजार ८८ जना, खानागावामा ५ हजार ४ सय ५९ जना, फुकुओकामा ४ हजार ८ सय १७ जना, आईचीमा ४ हजार ७ सय ८२ जना, साईतामामा ४ हजार १ सय ३३ जना पुगेको छ ।

त्यसैगरी चिबामा ३ हजार २ सय ११ जना, ह्योगोमा २ हजार ३ सय ६० जना, ओकिनावामा २ हजार २ सय २९ जना, होक्काईदोमा १ हजार ८ सय ३४ जना र क्योतोमा १ हजार ५ सय ८३ जना संक्रमित संख्या पुगेको छ ।