
पोखरा, २४ भदौ । हङकङ स्थित मर्दिखोलाबासीहरुको मुल संस्था मर्दिखोला सेवा समिति हङकङ र सो संस्थाको महिला विभाग, मर्दिखोला आमा समुह हङकङको नेतृत्वमा संकलित रु ३ लाख आज हस्तान्तरण गरिएको छ। माछापुच्छ्रे गाउँ पालिका वडा नं ८, खोरामुखमा गत साउन २ गतेको पहिरो गएको थियो। सो पहिरोमा प्रेमराज वि।कका ३ नातिनातीनाहरु कुमार बिक (१६ वर्ष), समीर बिक (१४ वर्ष) र रोजिना बिक (१६ बर्ष)को ज्यान गएको थियो ।
सो संकलित रकम मर्दीखोला सेवा समिति हङकङ, महिला विभागका कोषाध्यक्ष सृजना गुरुङ र सहकोषाध्यक्ष तुलसी गुरुङले मृतकका हजुरबुबा प्रेमराज बिकलाई पचहत्तर हजार र तिनै छोराबुहारीलाई जनही पचहत्तर हजार गरी कुल तीन लाख सहयोग गरेको हो।
यो दुखको घडीमा हङकङबाट आफ्नो भोगका छोराछोरीहरुले आफ्नो घाउमा मलमपट्टी लगाउने ठुलो गुन गर्नु भएकोमा हजुरबुबा प्रेमराज विकले आभारसहित धन्यवाद व्यक्त गर्नु भयो।
कोषाध्यक्ष सृजना गुरुङले सो रकम संकलन गर्न खटनु हुने मर्दि खोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ, सचिव रामजी पौडेल र कार्य समिति सदस्यहरु, महिला बिभागका अध्यक्ष राम कुमारी गुरुङ (मोती), उपअध्यक्ष नानी कमला गुरुङ, सचिब लक्ष्मी गुरुङ, कार्यसमिती सदस्य तिर्थ गुरुङ लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि आउने विभिन्न आपत विपत, प्रकृतिक प्रकोपहरुमा सहयोग गर्दै आईरहेको छ। केहि दिन अगाडि मात्र मर्दि खोला सेवा समिति युकेको पहलमा पनि सोहि पहिरो पिडितलाई दुई लाख आर्थिक सहयोग गरेको थियो।