उपत्यकामा निषेधाज्ञा खुकुलो : यातायात र व्यापारलाई सहज (सूचीसहित)

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले तीन सातापछि  काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ।

पत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंभित्र १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गरिने भएको छ । भाडाका ट्याक्सीमा चालकसहित तीन जना र परिवारभित्रका ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ । निजी सवारी साधन मोटरसाइकल, स्कुटरसमेत स्वास्थ्य मापदण्डअनुसार सञ्चालन हुनेछ ।

अत्यावश्यक वस्तु, सेवामध्ये औषधि र स्वास्थ्य सामग्री वितरण गर्ने पसललाई जुनसुकै समयमा खोल्न दिइनेछ । अत्यावश्क खाद्यान्न तथा दुध, दुधजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसल भने बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न दिइनेछ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्टी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। 

देशभर झन्डै चार महिना लामो लकडाउन गरेको सरकारले भदौको पहिलो सातादेखि निषेधाज्ञा गरेको हो।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले  भदौ २ गते भदौ ३ गतेदेखि पहिलोपटक उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए।

भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौ १७ गते फेरि भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।