
प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वको अवसरमा शुभकामना सन्देश दिंदै पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् ।
पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन् ।
आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।
प्रधानमन्त्री ओलीले जितिया पर्वको अवसरमा दिएको शुभकामना सन्देशको पूर्णपाठ:
पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् । सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं । यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् । कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गर्दछु ।
अन्त्यमा, जितिया पर्वको सुखद् अवसरमा थारु एवं मैथिली दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
२५ भदौ २०७७