
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने बताएका छन ।
एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा आज बिहीबार गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापनको निर्देशन दिइएको छ ।

प्रधानमन्त्री ओलीले एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन दिएका छन् । यसैगरी उनले सजाय कम भएको गुनासो जायज भएको बताउँदै यसलाई कानून बनाउँदा सम्बोधन गर्नको लागि पनि निर्देशन दिएका छन् ।
एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाइनेछ भने प्रधानमन्त्रीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने गरी अघि बढ्न समेत सबैलाई आह्वान गरेका छन् ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी रहेको आजको कार्यक्रममा प्रधानमन्त्रीले एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गरिने बताए । यसका लागि वीर र त्रिवि शिक्षण अस्पताल तोकिएको छ ।
आक्रमणपछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताए । यसैगरी एसिड आक्रमणमा परेकाहरुले चाहेको उद्यम गर्न सरकारले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध गर्न सहयोग गर्नेछ । प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक बन्दोबस्त गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।