
पोखरा । कास्की जिल्लामा भोलिबाट सार्वजनिक यातायात संचालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ गते राती १२ बजेदेखि सकिदैछ । जिल्ला सिसिएमसीको शुक्रबार बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्न सकिने निर्णय गरेको छ ।
सार्वजनिक यातायातमा चालक, सहचालक तथा यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिवार्य रुपमा दैनिक सवारीसाधन निसंक्रमित गरिनुपर्नेछ ।
यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने निर्णय वैठकले गरेको छ । सार्वजनिक यातायात बिहान ६ बजेदेखि ८ बजेसम्म संचालन गर्न पाइनेछ ।
मानिसहरु भेला हुन, भीडभाड गर्न, जुलुस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न भने अझै पाइने छैन । त्यस्तै विद्यालय, क्याम्पस, सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटिपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न अझै प्रतिबन्ध लगाइएको छ ।
