फिस्टेल अस्पतालको गम्भीर लापरवाही: दाहसंस्कारमा सहभागी सयौं व्यक्ति कोरोनाको जोखिममा

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


पोखरा । स्तन क्यान्सर र मिर्गौला सम्बन्धी समस्या भएर उपचार गराइरहेकी पोखरा ५ की एक महिलाको शुक्रवार बिहान १ः१५ बजे मृत्यु भयो । बुधबार अस्पतालको सधन उपचार कक्षमा भर्ना गरिएकी महिलाको अस्पतालले बिहीवार दिउसो मात्र कोरोना परीक्षणका लागि स्वाव संकलन गर्यो । महिलाको अस्पतालको सधन उपचार कक्षमा उपचार कै क्रममा निधन भयो । तर अस्पतालले महिलाको स्वाबको नतिजा नआउदै शव आफन्तलाई जिम्मा लगायो ।

पर्यटन, राजनीति र समाजसेवा लगायत क्षेत्रका एक सय जना भन्दा बढी व्यक्ति उनको मलामी गए । उनी पोखराका पर्यटन व्यवसायीकी श्रीमती हुन् । ती महिलालाई श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजीव पहारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल, पर्यटन व्यवसायीलगायतका सयौं व्यक्तिहरु रामघाट पुगेका थिए । शुक्रबार पोखरा सेती नदीमा दाहसंस्कार गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमण रहेको शनिबार पुष्टि भयो ।

मृतक महिलामा कोरोना रहेको पुष्टि भएपछि उनको उपचार गराएको निजी अस्पतालका स्वास्थ्यकर्मी र थुप्रै सहभागी मलामीहरु अहिले होम क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । उनीहरु स्वस्फुर्त होम क्वारेन्टाइनमा बसेका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु मनपरी भएको सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यो घटनाबारे थुप्रै प्रश्न उठाएका छन् ।

उनले ‘परीक्षणका लागि स्वाब पठाएपछि शव किन परिवारको जिम्मा लगाएको ?, एकदिन रिपोर्ट कुर्न किन नसकेको ?’ मृतक महिलाको कोरोना परीक्षण किन गरेको ? नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल सञ्चालकलाई थाहा नभएको हो?’ भन्ने प्रश्न गरेका छन् ।

शर्माको प्रश्न छ, ‘कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ? अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?’ यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने भन्ने उनको प्रश्न छ ।

ती महिलाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशमा २४ जना पुगेका छन । शनिबार मात्रै पोखरामा ८५ वर्षे पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ । उनी स्याङ्जाको पुतलीबजारका बासिन्दा हुन । गण्डकीमा कास्कीका ८, गोरखाका ४, तनहुँ, नवलपुर र स्याङ्जाका ३/३, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।