
काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरो गई घरहरु पुरिएका छन् ।
जिल्लाको बाह्रबिसे नगरपालिका– ७ को भिरखर्कको नागपुजेमा पहिरो जाँदा १३ घर पुरिएको छ । आज बिहान झरेको पहिरोले ती घरहरु पुरिंदा १५ जना सम्पर्कविहिन भएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ ।
हराइरहेका मध्ये एक जनाको पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ ।
रातभर पानी परिरहेकोले घटनास्थलसम्म पुग्ने बाटोका अन्य स्थानमा समेत साना पहिरो फरेको र बाटो बिगारेकोले घटनास्थलसम्म पुग्न कठिनाइ भएको स्थानीयले बताएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।
पहिरो झरेको स्थानमा उद्धारका लागि प्रहरी सहितको उद्धार टोली घटनास्थलतर्फ गएको छन् । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।