४२ वर्ष पछि ठूलो माटीकोरेको यात्रा काठमाण्डौ उपत्यकामा

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


फाइल फोटो; सोम लामा

पंछीहरुको आनीबानी निकै विचित्रको हुन्छ । कुनै प्रजातिहरु हजारौं किलोमिटर यात्रा गर्दे ठूला नदीका गल्छीलाई बाटो बनाएर उड्छन् भने कतिपय धरातलीय उच्च हिमालहरु माथि आफ्नो बाटो तय गर्दछन् । कतिपय हिमाली भेग बाट पहाडी क्षेत्र हुँदै तराईका लमतन्न समतल फाँट सम्म पुग्दछन् भने कतिपय सुख्खा मरभुमी तथा निक्कै तापक्रम भएका स्थानबाट चिसो खोज्दै पहाड चढ्दछन् ।

तर यो बानी सबै पंछीहरुमा लागु हुँदैन र पखेटा हुदैमा जहाँ पनि उडेर पुग्नु पर्छ भन्ने धारणा हुँदैन । जसले गर्दा तल्लो भुभागका पंछीहरु माथिल्लो क्षेत्रमा आई पुग्दैनन भने हिमाली क्षेत्रका प्रजातिहरु तराई झर्दैनन् । यसको ज्वलन्त उदाहरण हो ठूलो माटीकोरे । तराईका समथर स्थानहरुमा बिचरण गर्ने यो रैथाने प्रजाती सन् १९७८ मा पहिलो पटक उपत्यकाको गोदावरीको उच्च क्षेत्रमा भ्रमण गरे यता पहाड उक्लिएन (रोबर्ट, १९७८) । तर अपबादका रुपमा फेरी ४२ वर्ष पछि दोस्रो पटक यो पंछी काठमाण्डौं उपत्यका छिर्यो ।

भक्तपुरमा भेटिएको ठूलो माटीकोरे, फोटोः बिभाष पाल

तराईका भुभाग प्रचुर मात्रामा देखिने र पछिल्लो समयमा संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा सिमित हुँदै गएको यो प्रजाति उपत्यकाको भक्तपुरमा यहि भाद्र १८ गते बिहिबारका दिन बिभाष पालले आफ्नै निबासको झ्यालमा भेटेका थिए । इन्जिनियरिङका विद्यार्थी र पंछी अबलोकन तथा संरक्षणका संघ संस्था सँग आबद्धता नभएका पालले माटीकोरेको रंगले कौतुहलता जागी मोबाइलबाटै उक्त पंछीको फोटो खिचेका थिए । उनले त्यस फोटोलाई पंछी तथा वन्यजन्तुमा लगाब राखेका आफ्नै दाइ आदित्य पाललाई पठाएका थिए । प्रजाति पहिचान गरे पछि अलि अनपेक्षित लागेर दाइ पालले नेपाल पंछीबिद संघका कोषाध्यक्ष तथा बरिष्ठ पंछीबिद हठन चौधरी सँग परामर्श लिएका थिए ।

फाईल फोटो; आदित्य पाल

विश्वब्यापी तापमानमा बृद्धि, अल्पबयस्कहरुको नयाँठाउँ खोज्ने र खानाको खोजीमा गरिने लामो यात्राका क्रममा सुहाउँदो स्थान भेटे पछिको बसाई, बाटो बिराएर गरिने यात्राहरु, मानबीय अतिक्रमणले गर्दा असुरक्षित भएका प्रजातिहरुको नयाँ स्थान खोजी, धेरै ब्यक्तिहरु सँग आधुनिक उपकरणहरु (बाइनोकुलर, मोबाइल, क्यामेरा) हुनु, सामाजिक सञ्जालहरुमा सेयर गर्ने प्रबृति जस्ता कारणले गर्दा पछिल्ला दिनहरुमा कतै नयाँ त कतै धेरै समय पश्चात पंछीहरु भेटिएका छन् । जसले गर्दा पंछी अवलोकन मात्र नभई संरक्षणमा समेत आम मानिसहरुको चासो बढि रहेको छ ।

पक्तिकार अनुसन्धानकर्मी, संरक्षणकर्मी तथा पोखरा पंछी समाजका अध्यक्ष हुन् ।