
सन थापा, जापान ।
३० भदौ (सेप्टेम्बर १५) । जापानमा १०० वर्ष पुगेका ज्येष्ठ नागरिकको संख्या ८० हजार ४ सय ५० जना रहेको छ । यो संख्या ५० वर्षपछि सबैभन्दा बढी हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सेप्टेम्बर १ सम्म स्थानीय निकायमा दर्ता भएका नागरिकको आज उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
जसमध्ये महिला ७० हजार ९ सय ७५ जना अर्थात् ८८ प्रतिशत र पुरुष ९ हजार ४ सय ७५ जना अर्थात् १२ प्रतिशत रहेको छ ।
प्रति १ लाख जनसंख्यामा सबैभन्दा बढी सिमाने प्रान्तमा १२७.६, कोची प्रान्तमा ११९.७७, तोत्तोरी प्रान्तमा १०९.८९ रहेको छ भने सबैभन्दा कम साईतामा प्रान्तमा ४०.०१, आईची प्रान्तमा ४१.७९ र चिबा प्रान्तमा ४५.९८ रहेको छ ।

सन् १९६३ मा पहिलो पटक सार्वजनिक भएको तथ्याङ्कमा यो संख्या जम्मा १ सय ५३ जना रहेको थियो भने सन् १९८८ मा १० हजार जना रहेको थियो ।
जापानको सबैभन्दा धेरै उमेरका जीवित महिला १ सय १७ वर्षीया काने तानाका हुन् । सन् १९०३ जनवरी २ मा जन्मिएकी तानाका सबैभन्दा धेरै उमेरका जीवित महिलाको रूपमा गिनिज वर्ल्ड रेकर्डसमा समेत दर्ता भएकी छन् । फुकुओका शहरको एक नर्सिङहोममा बस्ने उनी दीर्घायु जीवनको लागि स्वादिष्ट खाना खानु, दिमागलाई सक्रिय बनाउनु रहेको बताउछिन्।
त्यस्तै जापानको सबैभन्दा धेरै उमेरका जीवित पुरुष १ सय १० वर्षीय मिकिजो उएदा हुन् । सन् १९१० मे ११ मा जन्मिएका उएदा नारा प्रान्तमा बस्छन् ।
यसैबीच स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले १०० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दीर्घायु स्मारिका दिने निर्णय समेत गरेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।