
काठमाडौं । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका छन् ।
उनका अनुसार आन्तरिक हवाई उडान सञ्चालन गर्दा र लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको बताए । उडानमा एकातर्फका पंक्तिको सिटमा एकजनामात्रै यात्रु राख्नुपर्नेछ । स्वास्थ्य मापदण्ड तोक्दा सिटमा कम यात्रु हुने भएकाले ५० प्रतिशतसम्म भाडादर बढाउन पाउने अनुमति सरकारले दिएको छ ।
त्यस्तै, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नयाँ भर्ना अभियानलाई खुला गर्ने, राष्ट्र बैंकलाई १ र २ रुपियाँको सिक्का प्रकाशनका लागि स्वीकृति दिने, नयाँ नक्सा अङ्कित चिन्ह राखेर सिक्का निकाल्ने सरकारले अनुमति दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
प्रवक्ता ज्ञवालीका अनुसार बाढी तथा पहिरोमा परी ज्यान गुमाउने परिवारका एक जनाको मृत्यु भएमा दुई लाख, अन्य सदस्यको थप मृत्यु भएको अवस्थामा एक लाखका दरले थप सहयोग गर्ने सरकारले निर्णय गरेको छ । बाढी पहिरोका कारण स्थानान्तरण हुने परिवारलाई एक लाख रुपियाँका दरले सहयोग गर्ने, उपचार तथा यातायात खर्च पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
त्यस्तै, बढ्दै गएको एसिड पीडितका घटनाबारे सरकारले निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीकाअनुसार पीडितको उपचार, शिक्षा निःशुल्क गर्ने, रोजगारको व्यवस्था गर्ने, आजीवन औषधि गर्नुपर्ने भएमा सरकारले खर्च व्यहोर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
त्यस्तै, नेपालको हिमाल आरोहण तथा पदयात्रामा आउन चाहनेहरुका लागि आगामी कात्तिक १ गतेदेखि खुला गर्ने तर पीसीआर टेष्ट अनिवार्य गरेको हुनुपर्ने सरकारले निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार बैठकले दूरशिक्षा तथा अनलाइन शिक्षा सिकाई कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मुलुकले आर्थिक र स्वास्थ्य संकट भोगिरहेकाले त्यसमा सञ्चार माध्यमले आवश्यक सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले बताए । बजार, व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्वास्थ्य संकट बढ्ने, नखोल्दा आर्थिक संकट बढ्ने अवस्था रहेकाले नागरिकहरु आफैँ जिम्मेवार र कोभिड–१९ लाग्न नदिनप्रति सजग हुनुपर्ने प्रवक्ता ज्ञवालीले बताए ।

