पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति वार्ड असोज १ गतेसम्म बन्द

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको प्रसूति वार्ड असोज १ गतेसम्म बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० की २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएकाले निर्मलीकरणको लागि अस्पतालले प्रसूति वार्ड बिहीबारसम्मको लागि बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

भदौ २७ गते अस्पताल भर्ना भएकी उनमा कोरोनाको आशंकामा भदौ २८ गते स्वाब संकलन गरिएको थियो । आज प्राप्त नतिजा अनुसार उक्त महिलामा कोरोना पुष्टि भएकाले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखी निजहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ नआएसम्म अस्पतालले प्रदान गर्दै आइरहेको प्रसूति सेवा बन्द गरिएको हो ।

अस्पतालले प्रदान गर्दै आइरहेको अन्य सेवाहरु भने यथावत रहने निर्देशक आचार्यले जानकारी दिएका छन् ।