जापानको ९९औं प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित


निर्वाचित भएपछि सुगा

सन थापा
जापान, ३१ भदौ (सेप्टेम्बर १६) । जापानको ९९औं प्रधानमन्त्रीमा ७१ वर्षीय योशिहिदे सुगा निर्वाचित भएका छन् ।
बुधबार भएको संसदको तल्लो सदनको चुनावमा सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका योशिहिदे सुगा ३ सय १४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि सुगाले कोरोना महामारीका कारण खस्किएको अर्थतन्त्रलाई उकास्न जोड दिने उल्लेख गर्दै न्यूनतम् पारिश्रमिक बढाउने, कृषिमा सुधार र पर्यटन प्रबर्धनलाई प्राथमिकता दिने बताए ।

निवर्तमान प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्य समस्याका कारण १ वर्ष कार्यकाल बॉकी रहदै अगष्ट २८ गते पदबाट राजीनामा दिएका थिए ।

योकोहामा शहर सभाको लागि पहिलो पटक निर्वाचित भएपछि खिचिएको योशिहिदे सुगाको फाइल तस्वीर ।

को हुन् सुगा
बुवा वासाबरो सुगा र आमा तासु सुगाको कोखबाट सन् १९४८ डिसेम्बर ६ मा आकिता प्रान्तमा जन्मिएका हुन् । स्ट्रबरी किसान बुवा र शिक्षिका आमाको जेठो छोरो हुन् उनी । टोकियोस्थित होसेई विश्वबिध्यालयबाट सन् १९७३ मा कानून विषयमा स्नातक गरेका छन् । कलेज जीवनमा सुरक्षागार्ड, पत्रिकाको कनिष्ट सहायकको रूपमा काम गरे । स्नातक तह पास गरेपछि ईलेक्ट्रिकल मर्मत कम्पनीमा आवद्ध भएका उनले बिस्तारै राजनीतिक विषयमा चासो लिन थाले । डायट सदस्य र सचिव भएर १ दशक काम गरेपछि सन् १९८७ मा योकोहामा नगरसभा सदस्यमा निर्वाचित भए । निवर्तमान प्रधानमन्त्री शिन्जो आवेको पहिलो कार्यकालमा सन् २००६-२००७ मा आन्तरिक मामिला मन्त्री भए भने सन् २०११ एलडीपी पार्टी संगठन अभियानका प्रमुख, सन् २०१२ एलडीपीका कार्यकारी कार्यवाहक महासचिव भए ।


सन् २०१२ डिसेम्बर २६ देखि २०२० सेप्टेम्बर १६ सम्म मन्त्रीपरिषदका मुख्यसचिवको रूपमा सबैभन्दा लामो समय काम गरे ।

नवनिर्वाचित प्रधानमन्त्री सुगाका श्रीमती मारिको सुगा र तीन छोराहरू रहेका छन् । आफ्नो काममा बफादर रही निरन्तर खटिरहने बानीका कारण निवर्तमान प्रधानमन्त्री शिन्जो आवेको विश्वासिलो पात्र हुन् ।