आजदेखि लामो दूरीका गाडी सञ्चालन

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


पोखरा, १ असोज । कोरोना संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज बिहीबारबाट सञ्चालन हुने भएका छन् । कोरोना संक्रमण बढ्न थाल्दा सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन ।

सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको हो । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा मजदुर ट्रेड युनियन नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामा, मध्यम, छोटो र स्थानीय रुटमा सबै गाडी सञ्चालनमा आउने उल्लेख गरेका छन् । व्यवसायीलाई आजदेखि गाडी सञ्चालनमा ल्याउन र सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि अनुरोध गरेको छ।

सवारी साधनका चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रूपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।

सरकारले लामो दूरीका सवारीमा तोकेको मापदण्डअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने छ । यसरी यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी निर्णय भएको छ ।