वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहरबारमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सपथ खुवाए । राष्ट्रियसभा सदस्यको लोगो लगाइदिए ।

शपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे। राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन।’ समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको समेत उनले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्। राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो। यो कोटामा उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बनेका हुन्।