
काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।
संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने ‘नयाँ संविधानलाई नेपाली जनताको चाहनाबमोजिम पारित हुन नदिने चलखेल पनि शुरुमा नभएका होइनन् तर जनताले त्यसलाई पराजित गरिदिए । अब यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सकिन्छ । यसका लागि सरकार तयार छ ।’ जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’
नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रम ओलीले बताए ।
पुस्तक प्रकाशनमा संलग्न कनकमणि दीक्षितले संविधानको कार्यान्वयन र व्याख्यालाई थप विस्तार गर्दै अन्तर्राष्ट्रिय भाषाहरुमा पनि अनुवाद गराउन सुझाव दिएका थिए ।