
फोटोः संजीब आचार्य
नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्षमा कोशी पंछी समाजका अध्यक्ष तथा पंछीबिद संजीब आचार्यको टोलीले पंछी अबलोकनका क्रममा सन् १९९५ (बराल र चौधरी २००५) पछि दोस्रो पल्ट कालोटाउके माटीकोरे (Black-capped Kingfisher)को अभिलेख गरेका छन् । चराको प्रख्यात यस आरक्षमा चराको तथ्याङ्क भने ५२६ छ ।
नेपालको संकटापन्न पंछी संम्बन्धि रातो किताबका अनुसार नेपालमा १९ औं शताब्दीमा पहिलो पटक अभिलेख (फ्लेमिङ, १९७५ तथा गुरुङ, १९८०) गरिएको यो माटीकोरे तराईका क्षेत्रहरुमा स्थान बिशेष विरल तथा अनियमित वटुवा हो । यो प्रजाति आरक्ष क्षेत्रको बाहिर ५ कि.मि. पूर्वी क्षेत्रमा सुनसरीकै रामधुनी जंगलमा सन् १९९८ मा भेटिएको थियो (चौधरी, १९९९) ।
सन् १९९० पछिका अभिलेखहरुमा पश्चिमको खप्तड राष्ट्रिय निकुञ्जमा सन् १९९५ (गिरी र चौधरी, १९९६), बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २००१ (इन्स्किप २००१), चितवन राष्ट्रिय निकुञ्जमा सन् २००६ (बराल र उपाध्याय २००६), बिसहजारी तालमा १९९२ (ब्रीउ, १९९२), हात्ती प्रजनन केन्द्रमा सन् २००४ (बेस), जनकौली सामुदायीक वनमा सन् २००५ (चौधरी, २००५), टिकौलीमा २०१३ (बिडारी, २०१३), ढुङ्ग्री खोलामा सन् २०१६ (बेस, २०१६) र गैडाघाटमा सन् २०१८ (बिडारी र महतो) गरिएको थियो ।

संरक्षण क्षेत्र बाहिर काठमाण्डौ उपत्यकामा सन् १९९८ (चौधरी, १९९८), गोदावरीमा सन् २०१५ (यादब, २०१५), चाँदनी खोला, रौतहटमा सन् २००५ (गिरी र चौधरी, २००५) र हेटौंडामा सन् २०१४ (पराजुली कञ्चन, २०१४) अभिलेख गरिएको थियो ।
आइयूसियनले कम चासोको रुपमा राखेको यो प्रजातिलाई नेपालमा एक अनिश्चित ग्रिष्म आगन्तुक (फ्लेमिङ एट अल १९७६), फिरन्ते (इन्स्किप १९९१) हुँदै पछिल्लो समयमा बिभिन्न स्थानहरुमा अभिलेख गरिएकोले गर्दा विरल तथा अनियमित बटुवाको रुपमा समेटिएको छ । नेपालमा हाल सम्म यस प्रजातिको कुनै पनि बैज्ञानिक अनुगमन तथा अनुसन्धानहरु भएका छैनन् ।