नेकपा सचिवालय बैठक सकियाे, मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अहिले सरकारले गरिरहेको काममा थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको कुरा भएको छ, तर त्यसको ठोस खाका बन्न बाँकी छ ।

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।

यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

त्यस्तै सरकारलाई निर्णय गर्न आधार तयार गर्न सजिलो बनाउनेगरी सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भएको छ । यसैगरी तेस्रो–कार्यसूचीमा संगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने विषय र चौथो– विविध कार्यसूची तय गरिएको उनले बताए ।

यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए ।

यस्तै संघीय सांसदहरुले कोभिड महामारी अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।