आजदेखि नियमित आन्तरिक उडान सुरु

-


     मर्दी न्युज    
     असाेज ५ गते २०७७ मा प्रकाशित


पोखरा । आजबाट आन्तरिक हवाई उडान सुरु हुने भएको छ । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि ठप्प भएको आन्तरिक हवाई उडान आजदेखि सुरु हुने भएको हो ।

नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको छ । आजबाट हुने उक्त उडानको लागि सबै तयारी पूरा भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणको भनाइ छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।