
पोखरा । पोखरा महानगरपालिका वडा नंः ६ बैदाममा स्थायी बसोबास भएका र कार्यथलो भएका केहि उत्साही युवाहरुले बिगत १०० दिनदेखि दैनिक एक÷दुईघण्टा समय निकालेर फेवाताल तथा आसपासका क्षेत्रहरूका प्लास्टिकजन्य फोहोर संकलन गरेर उचित व्यवस्थापन गरेका छन ।
पर्यटन पेशामा रहेका, साइकल यात्रागरि देशका विभिन्न भाग घुमेर अनुभव बटुलेका युवाहरुले नेपाल प्राकृतिक रूपमा सुन्दर रहेपनि हाम्रो आफ्नै आनिबानी र व्यवहारका कारण अत्यन्तै कुरुप बनेको निस्कर्ष निकालेर स्थानीय स्तरमै केही गर्नुपर्छ भन्ने भावनाका साथ काम थालेको संलग्न युवाहरु विशालजंग थापा, अलोन बिष्ट, अमर सिहले बताएका छन ।

१००औ दिनको कार्य प्रगति तथा समीक्षाको लागि आयोजना गरिएको पत्रकार संमेलनमा हालसम्म लगभग २७०० बोरा फोहोर संकलन गरेर व्यवस्थापन गरिएको जनाइएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुमध्ये वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले हाम्रो आनिबानी सुधार्नुपर्ने र युवाहरु जागरुक हुनुपर्ने बताए । कोरिया, मलेसिया लगायतका देशहरू पनि एक जमानामा पÞmोहोर व्यवस्थापनमा कमजोर रहेपनी अहिले अकल्पनीय रूपमा प्रगति गरेको जानकारी दिए । त्यसैगरी नागरिक समाजको तर्फबाट बिष्णुहरि अधिकारी, रेवान पोखराका अध्यक्ष भीमसेन भुजेल, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेललगायतले आफ्नो भनाइ राख्दै युवाहरूलाई अझ सशक्त भएर लाग्न आव्हान गरे ।
पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम क्लिन फेवा अभियान तथा प्रोजेक्ट नेचर नेपालका सदस्य बिजय तामाङले संचालन गरेका थिए ।
बैदाम, गौरिघाटस्थित रानिबन आर्केड होटलको सभाहलमा आज बिहान संपन्न उक्त कार्यक्रममा फेवाताल सरसफाइ सम्बन्धित सचेतनामुलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

