
पोखरा विमानस्थलमा ५ जना बालबालिकासहित ५६ यात्रु बोकेर बुद्द एयर अवतरण गरेको छ । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि ठप्प भएको आन्तरिक हवाई उडान आजदेखि सुरु भएपछि बुद्ध एयरले बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । यो कुल सिटको ८० प्रतिशत यात्रु बोकेर बुद्द एयर अवतरण गरेको हो ।
जहाजमा वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा आएका थिए । उक्त जहाजले पोखराबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो ।

कोरोना महामारीका समयमा सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै उडान गरिएको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर परासरजंग पाण्डेले जानकारी गराए । उनका अनुसार बुद्ध एयरमार्फत पोखरा आउने ५८ यात्रु स्वदेशी हुन् । विदेशी यात्रु एक जना पनि नभएको उनले बताएका छन् ।
पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले सोमबार काठमाडौं–पोखरा–काठमाडौं ४ उडान तालिका रहेकोमा यति एयरलाइन्सको एउटा उडान रद्ध भएको बताए । बुद्धका २ र यतिको एक गरी ३ उडानमात्रै हुने उनले बताए ।
बुद्ध र यतिको जहाज काठमाडौं फर्किसकेका छन् भने दिउँसो बुद्ध एयरले एक उडान गर्नेछ ।