
पोखरा, ५ असोज । आन्तरिक हवाई उडान आजदेखि सञ्चालन भएसँगै पोखराका पर्यटन व्यवसायीहरुमा उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्दसँगै पर्यटनसँग सम्बन्धित सबै व्यवसाय बन्द अवस्थामा थिए ।
पोखरा पर्यटन परिषद्ले सोमवार एक विज्ञप्ति जारी गरी पोखराका होटल, रेष्टुरेण्ट, ट्राभल, ट्रेकिङलगायत अन्य पर्यटकीय गतिविधि सुचारु भएको जानकारी दिएका छन् ।
कोभिड–१९ को संक्रमणलाई कम गर्न सरकारको तर्फबाट घोषणा गरिएका लकडाउन र निषेधाज्ञालाई केही खुकुलो बनाउँदा अन्य व्यवसाय विस्तारै सुचारु भएतापनि पर्यटन क्षेत्र बन्दाबन्दी नै रहनु परेको अवस्थामा विभिन्न देशहरुले पर्यटन बजारलाई चलायमान बनाउन अपनाएको मोडललाई सकारात्मक रुपमा लिंदै सरकारले चालेको कदमप्रति पर्यटन परिषद्ले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी जिल्ला प्रशासन कार्यालय कास्कीको असोज १ गते जारी गरिएको सूचना र सरकारद्वारा सार्वजनिक सवारीहरु, पर्यटकीय सवारीहरु र आन्तरिक उडानलाई सुचारु गर्न दिइएको अनुमितलाई स्वागत गर्दै पोखरामा सम्पूर्ण होटल, रेष्टुरेण्ट, ट्राभल, ट्रेकिङलगायतका अन्य पर्यटकीय गतिविधिहरु असोज २ गतेदेखि नै विश्व स्वास्थ्य संगठनको गाइडलाइन र नेपाल पर्यटन बोर्डको सुरक्षा मापदण्डलाई पूर्ण पालना गरी सूचारु गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।
