१० दिनभित्र पार्टी एकताको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेदवारी दिँदै कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताए । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।

बाँकी रहेका विविध एजेन्डामा २–३ भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए । आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भएपनि यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेपछि मापदण्ड आगामी बैठकले तयार गर्ने बताइएको थियो ।