
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा आज ११ औं विश्व गैंडा संरक्षण दिवस एक कार्यक्रम गरी मनाइयो ।
निकुञ्जको पूर्वी सेक्टरका मध्यबर्ती सामुदायिक वन (बाघमारा, चित्रसेन, कुमरोज र टिकौली), वर्ड एजुकेसन सोसाइटी, राष्ट्रिय प्रकृति संरक्षण कोष, एन्टी पोचिंग र निकुञ्जको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा करिब ३० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले आफ्ना संक्षिप्त भनाइ राख्दै निकुञ्जमा गैंडाको अवस्था राम्रो भएको र कोरोनाको कारणले गर्दा शिकारीहरुको चलखेल बढेको र त्यसलाई सम्बन्धित क्षेत्रले अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । निकुञ्जमा हाल ६०५ गैंडा रहेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष वायोडाइभरसिटी कन्जरभेसन सेन्टरका प्रमुख डा. बाबुराम लामिछानेले विश्वमा भएका गैंडाको बारेमा प्रस्तुति दिनुभएको थियो । विश्वमा ५ वटा उपप्रजातिका (जाभा, सुमात्रा, एक सिंगे, कालो र सेतो) गैंडाहरुको अस्तित्व रहेको छ ।
नेपालमा हाल चितवन राष्ट्रिय निकुञ्ज-६०५, बर्दिया राष्ट्रिय निकुञ्ज-२९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज-८ र पर्सा राष्ट्रिय निकुञ्ज-३) गरी जम्मा ६४५ वटाको संख्यामा गैडा रहेका छन्। तराईका घाँसे मैदानमा पाईने यी भिमकाय जनाबर शाकाहारी हुन् ।
बिशेष गरि यस प्रजातिको खाग, खुर तथा छालाको लागी अबैध शिकार गरिएको पाईएको छ । चिन लगाएत कतिपय देशहरू प्राचिन औषधीको लागी समेत यीनिहरू अंगहरूको प्रयोगले गर्दा दिन प्रतिदिन गैडाहरू संकटमा परेका छन् । आईयूसियनले समेत नेपालमा पाईने एक सिंगे गैडालाई संकटापन्नको सुचीमा राखेको छ ।