नेपाल पर्वतारोहण संघले मनायो स्वर्गिय डा. हर्क गुरुङको १४ औं स्मृति दिवस

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


डा. हर्क गुरुङ (सन् १९३९– २००६) भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष भए। उत्तरी लमजुङको तत्कालीन बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो।

तत्कालीन भुलभुले गाउँ विकास समिति वडा नं. ५ ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट ठूल‍ोकान्छा छोराको रूपमा जन्मेका थिए। सन २००६ को सेप्टेम्बर २३ तारीख ( आजकै दिन ) पुर्बी नेपालको कन्चनजंघा संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न जानेक्रम मा हेलिकप्टर दुर्घटनामा परि डा. गुरुङ लगायत स्वदेशी तथा बिदेशी गरि २४ जना ब्यक्तिहरु को अकल्पनीय निधन भएको थियो।

नेपाल पर्वतारोहण संघले आयोजना गरेको भर्चुअल वेबिनार कार्यक्रममा उहाँको जिबनिबारे मा नजिकैका मित्र तथा नेपाल पर्वतारोहण संघका सल्लाहकार डा. गणेश गुरुङले प्रकाश पार्नुभयो। डा. हर्क गुरुङले नेपालको पर्यटन क्षेत्रमा गरेका योगदानका बारेमा पनि संक्षिप्त चर्चा गरिएको थियो।

त्यसैगरी, तमु समाज प्रती डा. गुरुङको दृष्टिकोण बारेमा डेलमान गुरुङ, बाताबरण र डा. गुरुङ बारे वरिष्ठ पत्रकार भैरब रिसाल, बिश्व बन्यजन्तु कोष, घुन्सा दुर्घटना र डा. गुरुङबारेमा डा. घनश्याम गुरुङ, पर्वतीय पर्यटन संग डा. गुरुङको संबन्ध बारेमा शंभु तामाङ, टान का अध्यक्ष खुम बहादुर सुबेदी, पर्यटन बिभागका महानिर्देशक रुद्रसिंह तामाङ लगायतले बोल्नु भएको थियो।

परिवारको नजरमा डा. गुरुङको बारेमा उहाँकै छोरी हिमालचुली गुरुङले पठाएको संदेश पढेर सुनाइएको थियो। प्रमुख अतिथिको रूपमा बोल्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले डा. गुरुङको योगदानको कदर गर्न राज्यले अधिकतम पहलगर्ने बताउनुभयो।

नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले संचालन गर्नुभएको उक्त कार्यक्रम को सभापति नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामा हुनुहुन्थ्यो भने स्वागत मन्तव्य तमु बौद्ध सेवा समितिका अध्यक्ष ध्रुब बहादुर गुरुङले गर्नुभएको थियो।