जापानमा घट्दै कोरोना ग्राफ, बुधबार २१६ संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
सेप्टेम्वर २३ । जापानमा कोरोना संक्रमणको ग्राफ घट्दै गएको छ । बुधबार २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या जुलाई ८ मा २ सय ७ जना पछिको सबैभन्दा कम हो । हालसम्म जापानभित्र संक्रमित भएका ८० हजार १ सय १६ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८० हजार ८ सय २८ जना पुगेको छ ।

त्यसैगरी ७२ हजार ६ सय ४० जना निको भएका छन् । जसमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ हुन् । आज आईची प्रान्तमा दुई, टोकियो, ओसाका, फुकुओका र ईसिखावा प्रान्तमा एक(एक जना गरी छ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ जना पुगेको छ ।

संक्रमित मध्ये ६ हजार १ सय २५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २४ हजार ४ सय ५३, ओसाकामा १० हजार २ सय पॉंच, खानागावामा ६ हजार ४ सय ५१, आईचीमा ५ हजार १ सय ५७, फुकुओकामा ५ हजार सात , साईतामामा ४ हजार ४ सय ७० जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ६ सय ७५, ह्योगोमा २ हजार ६ सय १६, ओकिनावामा २ हजार ३ सय ७६, होक्काईदोमा १ हजार ९ सय ९६ र क्योतोमा १ हजार ७ सय पॉंच जना पुगेको छ ।